हेटौंडा — बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा प्रवाहलाई प्रविधिमैत्री, सेवाग्राहीमैत्री तथा गुनासोरहित बनाउने उद्देश्यले हेटौंडामा उच्चस्तरीय छलफल कार्यक्रम आयोजना गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा यातायात व्यवस्था कार्यालयहरूबाट प्रदान गरिँदै आएको सेवामा देखिएका समस्या, जनगुनासो तथा सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो।
छलफलमा सेवा प्रवाहका विद्यमान प्रक्रियागत चरणहरू, कानुनी तथा प्रक्रियागत आधारहरू, क्षेत्रगत समस्याहरू र तत्काल सुधार गर्न सकिने उपायहरूबारे प्रस्तुतीकरण गरिएको थियो। साथै सेवा सरलीकरण, प्रविधिको प्रयोग विस्तार, भिडभाड न्यूनीकरण तथा विचौलियामुक्त सेवा प्रवाहका लागि आवश्यक ऐन, नियम, कार्यविधि, परिपत्र तथा सफ्टवेयर/एप्लिकेसनको विकास र कार्यान्वयनबारे समेत जोड दिइएको थियो।
कार्यक्रममा सेवा सुधारका लागि जिम्मेवार निकायहरूको भूमिकाबारे स्पष्टता ल्याउँदै नागरिकले प्राप्त गर्ने सुविधाहरूको विषयमा पनि चर्चा गरिएको थियो। सम्बन्धित कार्यालयहरूको तर्फबाट संयुक्त प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री प्रभातकुमार तामाङ र श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको विशिष्ट आतिथ्यता रहेको थियो।
त्यस अवसरमा प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव रामबाबु पुरी र बाबुराम गौतम, तथा श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम भुसाल लगायत मन्त्रालय मातहतका सबै कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो।
















