रास्वपाको वैकल्पिक राजनीतिको अभ्यासमाथि मकवानपुरमा प्रश्न

Image

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मकवानपुर भ्रमणको सन्दर्भमा सामाजिक कार्यकर्ता विशाल राज महतले जिल्लाको वास्तविक अवस्था, कार्यकर्ताको भावना तथा जनताका सरोकारका विषयमा प्रत्यक्ष रूपमा ध्यान दिन आग्रह गरेका छन्।

मंगलबार जारी गरिएको ध्यानाकर्षण पत्रमार्फत महतले पार्टीका केही सीमित व्यक्तिहरूको रिपोर्टिङमा मात्र निर्भर हुँदा जिल्लाको वास्तविक अवस्था ओझेलमा पर्न सक्ने उल्लेख गर्दै फरक मत राख्ने कार्यकर्ता, शुभेच्छुक तथा आमजनताको आवाजसमेत सुन्न आग्रह गरेका हुन्।

उनले मकवानपुरमा पार्टीभित्र फरक मत राख्ने कार्यकर्ताप्रति अपनाइने व्यवहार, संगठन निर्माण प्रक्रिया, प्रतिनिधि छनोट, आन्तरिक लोकतन्त्रको अभ्यास तथा नेतृत्वको जवाफदेहिताबारे गम्भीर प्रश्नहरू उठिरहेको दाबी गरेका छन्। असन्तुष्टि, गुनासा र सुझावलाई सम्बोधन गर्नुको सट्टा दबाब र प्रभावका माध्यमबाट व्यवस्थापन गर्ने प्रवृत्तिले वैकल्पिक राजनीतिको मूल मर्ममाथि नै प्रश्न खडा गरेको उनको भनाइ छ।

ध्यानाकर्षण पत्रमा हेटौँडा–काठमाडौं सुरुङमार्गको नाममा भएको भनिएको ठगी प्रकरण, शिवम् सिमेन्टबाट वातावरण तथा जनस्वास्थ्यमा परेको असर, २५ मिटर प्रकरण, सुकुम्बासी समस्या, बढ्दो लागूऔषध दुर्व्यसन, हेटौँडा सिमेन्ट उद्योगको अवस्था तथा कपडा उद्योगलगायतका विषयमा पनि स्पष्ट धारणा र सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरिएको छ।

महतले जनताले रास्वपालाई पुरानो राजनीतिक संस्कारको विकल्पका रूपमा विश्वास गरेको स्मरण गराउँदै चम्किलो रिपोर्टिङभन्दा जनताको वास्तविक पीडा, अपेक्षा र निराशा सुन्ने वातावरण निर्माण गर्न नेतृत्वसँग आग्रह गरेका छन्।

उनले आफूहरू कुनै पद, अवसर वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको मतको सम्मान, जनअपेक्षाको सम्बोधन तथा देशहित केन्द्रित राजनीतिक अभ्यासको पक्षमा खबरदारी गरिरहेको बताएका छन्। लोकतन्त्रमा प्रश्न उठ्नु, आलोचना हुनु र त्यसको सुनुवाइ हुनु स्वस्थ राजनीतिक अभ्यास भएको उल्लेख गर्दै समयमै जनभावना बुझेर आवश्यक सुधार गर्न सके जनताको विश्वास अझ बलियो हुने विश्वास व्यक्त गरेका छन्।