हेटौंडा / मकवानपुरको भिमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
माण्डु हाइड्रोपावरतर्फबाट ईपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप (फास्ट ट्र्याकको गाडी) बुधबार राति करिब १०:५० बजे अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी तथा नेपाली सेना, काठमाडौं–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो। टोलीले गाडीमा सवार दुई जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाएको थियो।
दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी नेपाली सेनाका भूतपूर्व हवल्दार बोधराज बुढाथोकी (अन्दाजी ४०/४२ वर्ष) र बाराको पचरौता नगरपालिका–७ निवासी फास्ट ट्र्याकमा कार्यरत २१ वर्षीय इन्जिनियर सूर्य यादव गम्भीर घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा बिहीबार बिहान करिब ५ बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।
मृतकहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ भने आफन्तजनलाई घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। साथै, सवारी चालकलाई तीव्र गति नियन्त्रणमा राख्न, सवारी साधनको प्राविधिक अवस्था नियमित परीक्षण गर्न तथा रातिको समयमा विशेष सावधानी अपनाई सुरक्षित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेको छ।















