तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ भोलि असार ३ गतेदेखि सुरु हुदै

Image

हेटौँडा / तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ भोलि असार ३ गतेदेखि औपचारिक रूपमा सुरु हुँदैछ । बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन भोलि दिउँसो ४ बजे हेटौँडा–६ स्थित गौरीटार अन्तर्राष्ट्रिय रङ्गशालामा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम छ ।

प्रतियोगिता यसअघि जेठ २४ देखि ३० गतेसम्म गर्ने तयारी भए पनि आन्तरिक तयारीका कारण मिति सारिएको थियो । यद्यपि एथलेटिक्स विधाका खेलहरू असार १ गतेदेखि नै हेटौँडाको पिप्ले–क्याम्पा रङ्गशालामा सुरु भइसकेका छन् । प्रतियोगिताको समापन असार ९ गते हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले बताए ।

लामाका अनुसार प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियलको सहभागिता रहनेछ । प्रतियोगितामा करिब २ हजार ९ सय ५५ खेलाडी र १ हजार २ सय ६ अफिसियलसहित कुल ४ हजार १ सय ६१ जनाको सहभागिता रहने उनले जानकारी दिए । प्रतियोगिताका लागि १३ करोड २० लाख रुपैयाँ विनियोजन भएको छ ।

सदस्य सचिव लामाले यो प्रतियोगिता नयाँ प्रतिभा पहिचान, अनुभवी खेलाडीको क्षमता प्रदर्शन र आगामी दशौँ राष्ट्रिय खेलकुदको तयारीका लागि महत्वपूर्ण हुने बताए । उनका अनुसार खेलकुद पूर्वाधार पूर्ण रूपमा तयार नभए पनि उपलब्ध संरचना र स्रोतसाधनलाई व्यवस्थापन गर्दै प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । उनले प्रतियोगितालाई खेलाडीको क्षमता देखाउने साझा प्लेटफर्मका रूपमा लिइएको बताए ।

प्रतियोगितामा १५ खेल विधा समावेश छन् । हेटौँडामा फुटबल, पुरुष क्रिकेट, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र टेबलटेनिस हुनेछन् । महिला क्रिकेट र कराँते चितवनमा तथा भलिबल, पौडी, उसु र जुडोका खेल काठमाडौँ र ललितपुरमा सञ्चालन हुनेछन् ।