डिजिटल सुशासनदेखि कृषि आधुनिकीकरणसम्म, मनहरीको विकास प्राथमिकता सार्वजनिक

Image

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि डिजिटल सुशासन, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

सोमबार सम्पन्न १९औँ गाउँसभा अधिवेशनमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमा डिजिटल प्रणाली विस्तार गर्ने योजना समेटिएको छ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रअन्तर्गत मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि सञ्चालनमा रहेको ‘जिरो होम डेलिभरी’ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यससँगै सुरक्षित खानेपानीको पहुँच विस्तार, सडक तथा पुल निर्माण र स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखिएको छ।

कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यसहित आधुनिक प्रविधिको प्रयोग, उत्पादन वृद्धि तथा कृषकको आयआर्जन बढाउने कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यसैगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति तथा अपांगता भएका व्यक्तिको अधिकार, पहुँच र सहभागिता सुनिश्चित गर्न लक्षित कार्यक्रमहरू सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको नयाँ नीति तथा कार्यक्रमले सेवा प्रवाहमा डिजिटल रूपान्तरण, सामाजिक समावेशीकरण र दिगो विकासलाई मुख्य आधार बनाएको देखिएको छ।