काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित चौथो अन्तरविद्यालय जिम्न्यास्टिक प्रतियोगिता सम्पन्न

Image

काठमाडौं । नेपाल खेलकुद महासंघ काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित चौथो अन्तरविद्यालय जिम्न्यास्टिक प्रतियोगिता सम्पन्न भएको छ।

काठमाडौंको खुसीबुस्थित बहुउद्देश्यीय मार्शल आर्ट्स केन्द्रको जुडो हलमा आइतबार प्रतियोगिता सम्पन्न भएको हो। नेपाल खेलकुद महासंघ काठमाडौं जिल्ला कमिटीका अध्यक्ष राजेश्वरमान स्थापितको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताको गर्ल्सतर्फ सम्बृद्धि स्कुलकी सुरभी श्रेष्ठले प्रथम स्थान हासिल गर्नुभयो। मोर्डन इन्डियन स्कुलकी उदिता बलामी दोस्रो तथा आरम्भ संस्कारकी इभियन महर्जन तेस्रो हुनुभयो। त्यसैगरी ब्वाइजतर्फ मोर्डन इन्डियन स्कुलका उदिएन बलामीले प्रथम स्थान हासिल गर्नुभयो। आरम्भ संस्कारका निशान्त बज्राचार्य दोस्रो तथा मैत्री शिशु विद्यालयका पदुन्न शाक्य तेस्रो हुनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष दिपेन्द्र दाहालले विद्यालय तहदेखि नै खेलकुदको विकास र खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने उल्लेख गर्दै प्रतिभावान खेलाडीलाई उचित अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले विद्यालय तहबाटै खेलाडीको प्रतिभा पहिचान गरी आवश्यक प्रशिक्षण र अवसर उपलब्ध गराउनुपर्ने बताउनुभयो। उहाँले जिम्न्यास्टिकजस्ता खेलको विकासका लागि विद्यालय, स्थानीय तह र खेलकुद संघसंस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठले खेलकुद विद्यार्थीको समग्र व्यक्तित्व विकासको महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले विद्यालय तहमा हुने यस्ता प्रतियोगिताले बालबालिकाभित्र लुकेर रहेका प्रतिभा पहिचान गर्न सहयोग पुग्ने उल्लेख गर्दै खेलाडीलाई निरन्तर अभ्यास र प्रशिक्षणका लागि आवश्यक वातावरण निर्माण गर्न स्थानीय तहबाट समेत सहयोग हुनुपर्ने धारणा राख्नुभयो। उहाँले प्रतियोगितामा सहभागी सबै खेलाडीलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिनुभयो।

कार्यक्रमका अध्यक्ष तथा नेपाल खेलकुद महासंघ काठमाडौं जिल्ला कमिटीका अध्यक्ष राजेश्वरमान स्थापितले प्रतियोगिताको मुख्य उद्देश्य विद्यालय तहमा जिम्न्यास्टिक खेलको पहुँच विस्तार गर्नुका साथै नयाँ प्रतिभाको पहिचान गर्नु रहेको बताउनुभयो। उहाँले खेलाडी उत्पादन र खेलकुदको विकासका लागि महासंघले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि दिपेन्द्र दाहाल, विशेष अतिथि नेकपा एमाले जनसंगठन प्रमुख कमरेड विशाल भट्टराई, पूर्वमेयर विद्यासुन्दर शाक्य, वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठ, महासंघका केन्द्रीय महासचिव, सचिव, स्थायी कमिटी सदस्यलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो।

कार्यक्रममा नेपाल खेलकुद महासंघका विभिन्न पदाधिकारी, विद्यालयका प्रतिनिधि, प्रशिक्षक, अभिभावक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताले विद्यालय तहमा जिम्न्यास्टिक खेलको विकाससँगै नयाँ प्रतिभालाई खेल क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिएको आयोजकले जनाएको छ।