हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १५ द्वारा आयोजित अन्तरवडानगरस्तरीय वडा अध्यक्ष कप–२०८३ अन्तर्गत स्व. रमेश मगर तथा सुमन गोले स्मृति ब्याडमिन्टन प्रतियोगिताको खुल्ला र भेट्रान्स दुवै विधाको फाइनल समीकरण पूरा भएको छ।
खुल्ला विधाको उपाधिका लागि वडा नं. ५ र वडा नं. २ भिड्नेछन् भने भेट्रान्सतर्फ वडा नं. ५ र वडा नं. ६ बीच प्रतिस्पर्धा हुनेछ। दुवै विधाको फाइनलमा स्थान सुरक्षित गर्दै वडा नं. ५ ले दोहोरो उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ।
वडा अध्यक्ष कपले स्थानीय खेलाडीको प्रतिभा पहिचान, खेलकुदको विकास र विभिन्न वडाबीच आपसी सद्भाव बढाउन सहयोग पुग्ने वडा अध्यक्ष सुनिल मोक्तानले बताए। यस्ता प्रतियोगिताले युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उनको भनाइ छ।
आयोजकका अनुसार दुवै विधाका फाइनल खेलसँगै प्रतियोगिताका विजेताको टुंगो लाग्नेछ।

















