हेटौँडा जनप्रिय क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न

Image

हेटौँडा । हेटौँडा–१६ स्थित हेटौँडा जनप्रिय क्याम्पस (बीएस्सी एग्रिकल्चर) को दोस्रो क्याम्पस सभा शनिबार सम्पन्न भएको छ।सभामा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख एवं क्याम्पस अध्यक्ष मीनाकुमारी लामाले लामो प्रयासपछि कृषि विषयको उच्च शिक्षा सञ्चालन गर्न सफल भएको बताउँदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा जोड दिइन्। उनले क्याम्पसलाई नेपालकै सस्तो कलेजका रूपमा विकास गर्ने प्रयास भइरहेको जानकारी दिइन्।

क्याम्पसका सञ्चालक समिति उपाध्यक्ष आनन्दराम पराजुलीका अनुसार मकवानपुरमै कृषि विषयको उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले बीएस्सी अनर्स एग्रिकल्चर कार्यक्रम सञ्चालन गरिएको हो। ४८ जनाको कोटा रहेको क्याम्पसमा हालसम्म ४१ जना विद्यार्थी भर्ना भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्रेमबहादुर पुलामी ‘छिन्तु’ले मकवानपुर शैक्षिक हबका रूपमा विकास भइरहेको उल्लेख गर्दै कृषि र कानुन विषयको उच्च शिक्षामा हेटौँडा उपमहानगरपालिकाले गरेको लगानी प्रशंसनीय रहेको बताए।

सभामा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको थियो। कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला जिल्ला समन्वय समिति प्रमुख ललित घलान,बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, हेटौंडा ४ का अध्यक्ष नविन सिग्देल, हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा ११ की अध्यक्ष जुना दाहाल , हेटौंडा १ का अध्यक्ष सविन न्यौपाने लगायत जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।