हेटौंडा । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले घर, झोलुङ्गे पुल र जलविद्युत् आयोजनाका संरचना बगाएको छ भने तल्लो तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङ क्षेत्रमा हिमपहिरो खसेपछि नदीमा बाढी आएको हो। नेपाली सेनाको हेलिकप्टरबाट ६ जनाको सकुशल उद्धार गरिएको छ भने हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
बाढीले आरुघाटस्थित धादिङ जोड्ने पुल र टाइम्स इनर्जीको क्याम्प बगाएको छ। सिर्दीबासमा कच्ची घर बगेका छन् भने माछीखोलाका २० देखि २२ घर उच्च जोखिममा रहेका छन्। नदीको बहाव खतराको तहभन्दा माथि पुगेपछि आरुघाटको जलमापन केन्द्रले काम गर्न छोडेको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै तनहुँ, मुग्लिन, चितवन र नवलपरासी पूर्वसम्म सतर्कता अपनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। उद्धार टोलीले निगरानी गरिरहेको र आवश्यक परे थप उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीको सूचना पाउनासाथ सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

















