चुनाव चिह्नभन्दा उम्मेदवारको चरित्र र क्षमता हेरेर मतदान गर्न महतको आग्रह

Image

हेटौँडा । सेवा सहयोग आवाज नेपालका अध्यक्ष तथा समाजिक अभियन्ता विशाल राज महतले स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र चुनाव चिह्नभन्दा उम्मेदवारको क्षमता, चरित्र र कार्यदक्षतालाई प्राथमिकता दिएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।

महतले सामाजिक सञ्जालमार्फत स्थानीय तहमा जुनसुकै दल वा चुनाव चिह्नबाट उम्मेदवार निर्वाचित भए पनि निर्वाचनपछि जनताले आफ्नो जितको अनुभूति गर्न पाउनुपर्ने बताएका हुन्।

उनले जनताको अपेक्षाअनुसार काम गर्न सक्ने उम्मेदवारमा स्पष्ट दृष्टिकोण (भिजन), आवश्यक समन्वय गर्ने क्षमता, दृढ इच्छाशक्ति, चुनौतीको सामना गर्ने साहस, निडरता, नैतिकता र इमानदारिता हुनुपर्ने उल्लेख गरेका छन्।

लोकतन्त्रमा मतदाताको जिम्मेवारी मतदान गर्नुमा मात्र सीमित नरहेको भन्दै उनले सही व्यक्तिको पहिचान गरी विवेकपूर्ण निर्णय लिनुपर्ने बताएका छन्।