हेटौँडा । स्वस्थ जीवनशैलीप्रति नागरिकलाई जागरुक बनाउने उद्देश्यले हेटौँडा उपमहानगरपालिका–७ स्थित नागस्वतीमा पाँचदिने निःशुल्क बृहत् योग शिविर सञ्चालन हुने भएको छ।
पतञ्जली योग ७ नं. वडा समितिको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा कात्तिक १३ गतेदेखि १७ गतेसम्म शिविर सञ्चालन गर्न लागिएको हो। नवज्योति माध्यमिक विद्यालयको फुटबल मैदानमा हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने शिविरबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
शिविरमा पतञ्जली योगपीठ नेपालका अध्यक्ष तथा प्रशिक्षक लवदेव मिश्रले प्रशिक्षण दिनुहुने प्रचारप्रसार संयोजक नवराज खतिवडाले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा योग, प्राणायाम तथा स्वास्थ्यसँग सम्बन्धित विभिन्न अभ्यास गराइनेछ।
पछिल्लो समय बदलिँदो जीवनशैलीका कारण देखिने विभिन्न स्वास्थ्य समस्याबारे सचेतना फैलाउनुका साथै नियमित योग अभ्यासको महत्त्व बुझाउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको संयोजक खतिवडाले बताउनुभयो। योग तथा प्राणायामले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले नागरिकलाई दैनिक जीवनमा योग अभ्यास अपनाउन प्रेरित गरिने उहाँको भनाइ छ।















