हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ को आयोजनामा सञ्चालित वडा अध्यक्ष कप–२०८३ राष्ट्रिय स्नुकर च्याम्पियनसिप (टप–१६) मंगलबारदेखि सुरु भएको छ। हेटौँडा–४ स्थित लियम स्नुकर हाउसमा आयोजित विशेष समारोहबीच उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।
हेटौँडा–१५ खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक प्रितम रानाको सभाध्यक्षतामा भएको उद्घाटन समारोहमा उपप्रमुख बानियाँले रिबन काट्नुका साथै स्नुकर बल प्रहार गरेर प्रतियोगिताको शुभारम्भ गर्नुभयो।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख बानियाँले स्नुकर खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले हेटौँडा उपमहानगरपालिकाको आगामी विशेष अधिवेशनमा स्नुकर खेलाडी तथा शुभचिन्तकहरूसँग छलफल गरी राष्ट्रियस्तरको स्नुकर च्याम्पियनसिप सञ्चालनका लागि नीतिगत रूपमा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्नुकर खेल धनी वर्गले मात्र खेल्ने खेल हो भन्ने पुरानो मानसिकता परिवर्तन हुँदै गएको उल्लेख गर्दै उहाँले देशका विभिन्न स्थानमा युवामाझ यस खेलको लोकप्रियता बढ्नु सकारात्मक भएको बताउनुभयो। देशका विभिन्न ठाउँबाट हेटौँडा आएका खेलाडीलाई स्वागत गर्दै उहाँले खेलाडीको व्यक्तिगत पहिचानभन्दा खेलमार्फत देशलाई चिनाउनु महत्त्वपूर्ण रहेकोमा जोड दिनुभयो।
हेटौँडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले प्रतियोगितामा सहभागी देशभरका खेलाडीलाई सफलताको शुभकामना दिँदै खेललाई स्वस्थ, अनुशासित र सौहार्दपूर्ण बनाउन आग्रह गर्नुभयो। स्नुकर खेलमा धैर्यता, एकाग्रता र अनुशासन आवश्यक पर्ने उल्लेख गर्दै उहाँले यस खेलप्रति समाजमा रहेको नकारात्मक धारणा परिवर्तन गरी सकारात्मक रूपमा प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो।
उद्घाटन समारोहमा हेटौँडा–१५ का वडा सदस्य सिंहबहादुर लो, प्रतियोगिताका निर्णायक टिकालाल श्रेष्ठ र विश्व कार्कीलगायत स्थानीय बासिन्दा, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।
प्रतियोगिताअन्तर्गत मंगलबार पोखराका परिवेश रेग्मी र धनगढीका रोहित क्षेत्री तथा पाल्पाका कुडुल श्रेष्ठ र काठमाडौँका विनोद श्रेष्ठबीच पहिलो चरणका खेल सुरु भएको आयोजकले जनाएको छ।















