मकवानपुर प्रहरीका कार्यालय प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

Image

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालय प्रमुखहरूबीच आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ।

कात्तिक ११ गते आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री र मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय सानोपोखरा तथा विभिन्न इलाका प्रहरी कार्यालयका प्रमुखहरूबीच सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतापछि मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै एसपी खत्रीले निर्धारित लक्ष्य समयमै हासिल गर्न आग्रह गर्नुभयो। उहाँले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धानलाई चुस्त बनाउने, विपद् व्यवस्थापनमा सक्रिय रहने तथा प्रहरी आचरण र अनुशासनलाई उच्च राखेर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो।

त्यस्तै, आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै सम्झौतामा उल्लेखित लक्ष्य हासिल गर्न सबै प्रहरी एकाइले पूर्ण निष्ठा र जिम्मेवारीका साथ काम गर्नुपर्ने उहाँको भनाइ थियो।

वार्षिक कार्यसम्पादन सम्झौताले प्रहरी कार्यालयहरूको जिम्मेवारी, कार्यसम्पादनका लक्ष्य तथा सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।