काठमाडौँ । कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको २३औँ खेलमा कर्णाली याक्सले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनी लायन्सले १६.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
सुरुवाती क्रमका ब्याटर सस्तैमा समेटिएपछि दबाबमा परेको लुम्बिनीको इनिङ्स ओपनर डी आर्की सर्ट र दिलिप नाथले सम्हालेका थिए। लुम्बिनीको जितमा डी आर्की सर्टले ३४ बलमा ६ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४६ रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै, दिलिप नाथले २७ बलमा ४ चौकासहित २८ रन बनाउँदा निरोशन डिकवेलाले १३ बलमा २ चौका प्रहार गर्दै १६ रन जोडे। अन्य ब्याटरमध्ये समिम होसेनले ५, सन्दीप जोराले ४, रुबेन ट्रम्पेलम्यानले अविजित २ तथा कप्तान रोहित पौडेल र आसिफ शेखले समान १–१ रन जोडे।
बलिङतर्फ कर्णालीका मार्क वाटले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित मात्र १२ रन खर्चेर ४ विकेट लिए। यस्तै, पवन सर्राफ र हुसैन तलतले समान १–१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्स लुम्बिनीको कसिलो बलिङसामु निरीह बन्दै १९.२ ओभरमा १०५ रनमै अलआउट भएको थियो। लगातारको हारपछि सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकी स्टार ब्याटर डेभिड मिलरलाई कप्तानको जिम्मेवारी दिएर मैदान उत्रिएको कर्णालीको ब्याटिङ लाइनअप सुरुवाती ओभरमै धराशायी बनेको थियो। पावरप्लेमै ४ विकेट गुमाएर दबाबमा परेको कर्णालीका लागि सोमपाल कामीले १८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए। त्यस्तै, हुसैन तलतले २२ बलमा २ चौका र १ छक्कासहित २४ रन, गुलसन झाले १४ बलमा १३ रन तथा पवन सर्राफले २४ बलमा १२ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्। कप्तान डेभिड मिलर ५ रनमा पेभेलियन फर्किए।
कर्णालीलाई सस्तैमा समेट्न लुम्बिनीका डी आर्की सर्टले ४ ओभरमा १३ रन, कप्तान रोहित पौडेलले ३ ओभरमा १२ रन, किशोर महतोले २.२ ओभरमा ६ रन तथा अभिषेक गौतमले ४ ओभरमा २१ रन खर्चेर समान २–२ विकेट लिए। रुबेन ट्रम्पेलम्यान र शेर मल्लको नाममा १–१ विकेट रह्यो।
यस जितसँगै लिग चरणको ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी लायन्स तालिकाको शीर्ष स्थानमा उक्लिँदै एक खेल अगावै प्लेअफमा प्रवेश गरेको हो। उता, ६ खेलमा चौथो हार बेहोरेको कर्णाली याक्स ४ अंकका साथ तालिकाको सातौँ स्थानमा छ, जसले उसको प्लेअफ सम्भावना निकै कमजोर बनाएको छ।













