काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा शानदार जित दर्ता गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रनको बलियो योगफल तयार पारेको थियो। सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले ३५ रन र अर्का ओपनर विनोद भण्डारीले २७ रन जोड्दै टोलीलाई ६८ रनको उत्कृष्ट सुरुवात दिलाएका थिए।
त्यसपछि ब्रान्डन म्याकमुलेनले २४ रन र इसान पाण्डेले १३ बलमा ३ छक्काको मद्दतमा २३ रनको आक्रामक पारी खेले। अन्तिमतिर थरिन्दु रथ्नायके (२२ रन अविजित) र स्कट कुगेलेइन (१३ रन अविजित) ले द्रुत गतिमा रन जोड्दै टोलीलाई १७६ रनको लक्ष्यसम्म पुर्याए। कर्णालीका तर्फबाट मार्क वाटले २ विकेट लिए।
१७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्स निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रनमा समेटियो। कर्णालीका लागि दक्षिण अफ्रिकी स्टार ब्याटर डेविड मिलरले ९३ रनको विष्फोटक पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। सुदूरपश्चिमका बलरहरूको कसिलो बलिङ अगाडि कर्णालीका अन्य ब्याटरहरू टिक्न नसक्दा सुदूरपश्चिमले ३९ रनको जित हासिल गर्यो।















