काठमाडौं । बजारमा हल्ला थियो- सस्तो मूल्यमा ब्रान्डेड रक्सी पाइन्छ।
यो हल्लालाई कसैले महानगरीय अपराध महाशाखालाई सूचनाको रूपमा दियो। सस्तोमा भन्नाले बजारको मूल्यभन्दा प्रतिबोतल एक हजार रुपैयाँ जति कम। सस्तोमा पाइने रक्सीहरूमा रेड लेबल, ब्ल्याक लेबल, एब्सोलुट भोड्का, चिभास रिगललगायत थिए।
त्यो सूचना पाएपछि महाशाखाले यसलाई शंकाको दृष्टिकोणले हेर्यो। पक्कै पनि केही गडबड भएको भन्दै अनुसन्धान अघि बढायो। ‘अप्रेसन लिमा’ नाम दिएर अनुसन्धान अघि बढाएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
‘सस्तोमा रक्सी बजारमा बेच्छन् भन्ने सूचना आयो। कति कम हुन्छ भन्ने बुझ्दा झन्डै एक हजार जति कम हुन्छ भन्यो,’ उनले भने, ‘त्यसपछि हामीले चासो राख्यौं।’
प्रहरीले यो सूचना पाएसँगै यसको सप्लाई गर्ने व्यक्तिलाई खोज्यो। सर्लाही बरहथवा नगरपालिका-९ घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३८ वर्षीय नारायणप्रसाद घिमिरेले सप्लाई गर्ने भन्ने खबर पायो। पसलमा अर्डर गरे नारायणप्रसादले ल्याइदिन्छ भनेपछि प्रहरी आफैंले अर्डर गर्यो।
‘नारायणप्रसाद १४ वटा कार्टुन बोकेर हामी कहाँ आए,’ उनले भने, ‘अर्को सूचनाचाहिँ अन्त शुल्कको स्टिकर हुँदैन भन्ने आएको थियो। सिधै राजश्व छली गरेको देखियो।’
त्यसपछि व्यापार गर्न भन्दै रक्सी लिएर पुगेका नारायणप्रसादलाई शुक्रबार राजश्व छली गरेको आरोपमा प्रहरीले पक्राउ गर्यो।
प्रहरीले उनको गोदाम पत्ता लगाइसकेको थियो। उनै नारायणप्रसादलाई लिएर प्रहरी उनको गोदाममा पुग्यो। गोदामबाट थप २८० कार्टुन रक्सी महाशाखाले बरामद गर्यो। त्यहाँबाट पनि अर्का व्यक्ति पक्राउ परे।
उनी पर्सा सुवर्णपुर घर भई हाँडीगाउँका २८ वर्षीय रविन पाख्रिन थिए। पाख्रिनसँग सोधपुछ गर्दा थप दुई जना पक्राउ परे। पक्राउ पर्नेमा पर्सा घर भई कपन बस्ने ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल र कागेश्वरी मनहरा नगरपालिका-६ का ३० वर्षीय शैलेश पन्त छन्।
‘भारतबाट बख्रेलले रक्सी झिकाउने रहेछ। उनले पन्तलाई सम्पर्क गर्ने, पन्तले पाख्रिनलाई दिने र अन्तिममा ग्राहक खोजेर सप्लाई गर्ने काम नारायणप्रसादले गर्ने रहेछ,’ प्रहरी उपरीक्षक कोइरालाले भने।
प्रहरीले सबै गरेर २९६ कार्टुन रक्सी बरामद गरेको उनले बताए। प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनीहरूले ती रक्सी विशेषगरि काठमाडौंका पार्टी प्यालेसमा बिक्री गर्थे।
‘उनीहरूले हरेकले एउटा बोतलमा चार-पाँच सय नाफा खाने गरेका रहेछन्,’ उनले भने, ‘पार्टी प्यालेसमा बेच्ने रहेछन्। उनीहरूले तेस्रो पटकमात्रै ल्याएको भनेका छन्। हामीले अरू अनुसन्धान गर्दैछौं।’
बरामद भएका रक्सीको गुणस्तर पनि परीक्षण गर्न पठाएको महाशाखाले जनाएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न आइतबार राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ।
प्रहरीले साढे एक लाख बराबरको मदिरा बरामद गरेको महाशाखाले जनाएको छ। 















