काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको चुनावको लागि फागुन मसान्तभित्रै उमेदवार छनौट गर्ने भएको छ।
बिहीबार दिउँसो केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीको बैठकले सो निर्णय गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा स्थानीय तह निर्वाचन र विशेष कार्ययोजनाबारे छलफल भएको थियो।
पार्टीको संगठनलाई सुदृढ र क्रियाशील तुल्याएर सबै स्थानीय तहमा उमेदवार खडा गर्ने योजनाबारे छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। पार्टीलाई अनुशासित, मर्यादित बनाउन र पार्टीको हित विपरीतका गतिविधिलाई निरूत्साहित गर्न भन्दै वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्तिप्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहने गरी तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरिएको हो।
पार्टीको कार्यसमितिको बैठक फागुन ११ गते बस्ने निर्णय गरिएको छ।
बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, पदाधिकारीहरू र प्रदेश कार्य समितिका अध्यक्षहरू उपस्थित थिए।
















