हेटौंडा/ हेटौँडामा बस र स्कुटर एकआपसमा ठोक्किँदा घाइते भएका प्रहरी सहायक हवल्दार किरण थापाको उपचारका क्रममा मृत्यु भएको छ।
मकवानपुर प्रहरीका अनुसार असोज १५ गते राति हेटौँडा–१० मेनरोडमा कार्यालयको कामका लागि कर्रातर्फ जाँदै गरेका थापा सवार स्कुटर र वीरगञ्जबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको ग २ ख १०७९ नम्बरको बस ठोक्किएका थिए।
दुर्घटनामा घाइते थापाको हेटौँडा अस्पताल हुँदै चितवन मेडिकल कलेज र मेडिसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको थियो। उनको आज असोज २० गते दिउँसो ३ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
थापा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत थिए। दुर्घटनामा संलग्न बस चालक स्याङ्जा भीरकोट–६ का ३८ वर्षीय खगेन्द्र कोइरालालाई नियन्त्रणमा लिएर सवारी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















