मकवानपुरमा कांग्रेसलाई बलियो बनाएका बानियाँ

Image

हेटौँडा । कम्युनिस्ट प्रभाव बलियो मानिने मकवानपुरमा नेपाली कांग्रेसलाई स्थापित राजनीतिक शक्तिका रूपमा उभ्याउने नेतामध्ये इन्द्रबहादुर बानियाँको नाम अग्रपंक्तिमा आउँछ। लामो समय कम्युनिस्ट उम्मेदवारको प्रभाव रहेको जिल्लामा २०७० सालको संविधानसभा निर्वाचनमार्फत कांग्रेसलाई पहिलोपटक प्रत्यक्ष जित दिलाउँदै बानियाँले आफ्नो राजनीतिक यात्रा निर्णायक मोडमा पुर्‍याएका थिए।

२०६४ सालमा मकवानपुर क्षेत्र नम्बर १ बाट पहिलोपटक संसदीय निर्वाचन लडेका बानियाँ त्यसबेला पराजित भएका थिए। त्यसपछि २०७० सालमा सोही क्षेत्रबाट निर्वाचित हुँदै उनले कांग्रेसका लागि जिल्लामा नयाँ राजनीतिक आधार निर्माण गरे। त्यसयता उनी संसदीय निर्वाचनमा विजयी हुँदै आएका छन्। २०७४ सालमा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका बानियाँ २०७९ मा पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र तरुण दल हुँदै राजनीतिमा सक्रिय भएका बानियाँले पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हालेका छन्। २०७२ देखि २०७९ सम्म नेपाली कांग्रेस मकवानपुरको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका उनी २०७८ सालमा नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित भएका थिए।

बानियाँले केन्द्र सरकारमा समेत राज्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन्। २०७३ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र त्यसपछि गृह राज्यमन्त्री बनेका उनले संघीय सरकारमा समेत आफ्नो राजनीतिक भूमिका विस्तार गरेका थिए।
२०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित भएपछि उनी नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता सर्वसम्मत चयन भएका थिए। प्रदेशसभाको पहिलो कार्यकालभर कांग्रेस संसदीय दलको नेतृत्व गरेका बानियाँले प्रदेशसभामा पार्टीको भूमिका अघि बढाएका थिए।

२०७९ सालमा भने उनी कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि बहादुर सिंह लामासँग पराजित भए। तर करिब साढे दुई वर्षपछि २०८२ साउनमा भएको आन्तरिक प्रतिस्पर्धामा बानियाँले लामालाई पराजित गर्दै पुनः संसदीय दलको नेतृत्व हात पारे। ३७ सदस्यीय कांग्रेस संसदीय दलमा बानियाँले २२ मत पाएका थिए भने लामाले १४ मत प्राप्त गरेका थिए।

संसदीय दलको नेता बनेपछि बानियाँ २०८२ साउन २० गते कांग्रेस–एमाले गठबन्धनको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भए। उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री बनेका थिए।

मकवानपुरको स्थानीय राजनीतिबाट प्रदेश नेतृत्व हुँदै मुख्यमन्त्रीसम्म पुगेका बानियाँको राजनीतिक यात्रा लामो संगठनात्मक सक्रियता, निर्वाचनमा निरन्तर उपस्थिति र पार्टीभित्रको नेतृत्व भूमिकासँग जोडिएको छ। कम्युनिस्ट प्रभाव रहेको मकवानपुरमा कांग्रेसको चुनावी आधार विस्तार गर्न उनको भूमिकालाई कांग्रेसभित्र महत्वपूर्ण मानिँदै आएको छ।