काठमाडौं ।
एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत अहिले कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्यूगिनी खेल्दै छन् । पहिलो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । तर, नेपालका लागि यो निर्णयले घाटा लाग्ने देखिन्छ ।
पिएनजीका ब्इाटरले राम्रो प्रदर्शन गरिरहेका छन् । त्रिवि मैदानमा पहिलोपटक नेपालविरुद्ध खेल्न लागेको भए पनि उसका ब्याटरले आत्मविश्वासका साथ ब्याटिङ गरिरहेका हुन् । पहिलो विकेटको रूपमा हिरी हिरीलाई ४ रनमै गुमाए पनि पिएनजीको रनगति रोकिएको छैन ।
यो समाचार तयार पार्दासम्म पिएनजीले २० ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको छ । पिएनजीको पहिलो विकेट सोमपाल कामीले लिएका थिए । दोस्रो विकेट लिने क्रममा दीपेन्द्रसिंह ऐरीले टोनी उरालाई ३८ रनमा पवेलिएनको दिशा देखाए ।
यसका बाबजुद पिएनजीका कप्तान असद भाला र चार्ल्स अमिनीले राम्रो ब्याटिङ गरिरहेका छन् । यो अवस्थामा भालाले ४० र अमिनीले २० रन जोडिसकेका छन् । नेपाल र पिएनजीबीचको दोस्रो एकदिवसीय खेल भोलि हुनेछ ।













