नेदरल्याण्ड्समाथि न्यूजिल्याण्डको फराकिलो जित, योङले खेले शतकीय पारी

Image

काठमाडौं ।

विल योङले शतकीय पारी खेलेपछि घरेलु टोली न्युजिल्याण्डले एकदिवसीय सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्समाथि ७ विकेटको सहज जित हात पारेको छ ।

२०३ रनको लक्ष्य न्युजिल्याण्डले ३८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि १०३ रनमा अविजित रहेका योङले ११४ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरे ।

ह्यारी निकोलसले ७९ बलको सामना गर्दै ३ चौका र १ छक्का सहित ५७ रन बनाए । रस टेलरले ११ रन जोडे । दोस्रो विकेटका लागि योङ्ग र निकोलसले १६२ रनको शतकीय साझेदारी गर्दै न्युजिल्याण्डको पारी उकासेका थिए ।

नेदरल्याण्ड्सका लागि माइकल रिप्पोन २ तथा लोगन भान बिकले १ विकेट हात पारे । यसअघि माउन्ट माउन्गानुइस्थित बे ओभरमा टस जितेर ब्याटिङ रोजेको नेदल्याण्ड्सले दुई बल बाँकी छँदा सबै विकेट गुमाउँदै २०२ रन बनाएको थियो ।

नेदरल्यान्डका लागि माइकल रिप्पोनले अर्धशतकीय पारी खेले । ६७ रन बनाएका उनले ९७ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे । कप्तान पिटर सिलारले ४३ र विक्रमजित सिंहले १९ रन जोडे ।

छैटौं विकेटका लागि रिप्पोन र सिलारले ८० रनको साझेदारी गरेका थिए । न्युजिल्याण्डका ब्लेयर टिकनरले ४, काइल जेमिसनले ३ तथा म्याट हेनरी, कोनिल डि ग्राण्डहोम र माइकल ब्रेसवेलले १–१ विकेट हात पारे ।

यो जितसंगै न्युजिल्याण्डले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल १ अप्रिलमा ह्यामिल्टनस्थित सेडन पार्कमा हुनेछ ।