काठमाडौं ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी त्रिदेशीय (मलेसिया, पपुवा न्युगिनी र नेपाल) सम्मिलित त्रिकोणात्मक सिरिज मा आज पिएनजी र मलेसिया खेल्दै छन् । खेल मध्यान्ह १२ः३० मा सुरु हुनेछ ।
जारी सिरिजमा पिएनजीले तीन म्याच खेल्दा सबैमा हार बेहोरेको छ । ऊ अंकविहीन पुछारमा छ । यद्यपि फाइनल पुग्ने उसको सम्भावना जीवितै छ । यदि आजको खेल राम्रो नेट रनरेटमा जिते र नेपालले शनिबार मलेसियलाई हराएमा पिएनजीलाई फाइदा हुनसक्छ ।
यदि आज हारेमा भने फाइनल पुग्ने पिएनजीको सम्भावना समाप्त हुनेछ । मलेसिया भने आजको खेल जित्दै फाइनलको टिकट काट्ने लक्ष्यमा छ । उसले पहिलो खेलमा पिएनजीलाई ८ रनले हराएको थियो । दोस्रो खेलमा भने ऊ नेपालसँग ६ विकेटले पराजित भयो । नेपाल एक खेल अगावै सिरिजको फाइनलमा पुगिसकेको छ ।












