हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सीमा विवाद, अतिक्रमित नेपाली भूमि र असमान सन्धि–सम्झौताका विषयमा स्पष्ट छलफल हुनुपर्ने बताएका छन्।
उनले नेपालका कुन–कुन भूभागमा सीमा अतिक्रमण भएको छ भन्ने विषय तथ्य र प्रमाणका आधारमा अध्ययन गरी नेपाली जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने बताएका छन्। भारतले पनि तथ्यका आधारमा आफ्नो धारणा राख्ने भएकाले नेपालले प्रमाणसहित आफ्नो दाबी प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ।
मिचिएका नेपाली भूमि फिर्ता ल्याउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने भन्दै उनले असमान सन्धि तथा सम्झौताहरूको पुनरावलोकनबारे समेत छलफल अघि बढाउनुपर्ने बताएका छन्।
जनतालाई गुमराहमा राख्न नहुने र राष्ट्रिय हितका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनले जोड दिएका छन्।
प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्र र नेपाली जनताको हितमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै सिग्देलले भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन्।

















