हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा बालमैत्री वडा घोषणा

Image

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नं.४ निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।

नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उपमहानगरको छैटौ बालमैत्री वडा घोषणा गरिएको हो । यस वडाले बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक मध्ये ४९ सूचकमा सतप्रतिशत नतिजा हासिल गरेको ४ नम्बर वडाकी कार्यवाहक अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति सह–संयोजक गिता त्रिपाठीले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले निकट भविष्यमा उपमहानगरलाई नै बालमैत्री शासनयुक्त स्थानीय तह घोषणाको तीव्र तयारी भैरहेको र पछाडि परिएका बालबालिकाहरुलाई सक्षम बनाउन उपमहानगर लागिपरेको बताउनुभयो ।

हुप्रचौरबाट सुरु भएको बाजागाजा झाँकी सहितको बृहत प्रभातफेरी वडा परिक्रमा गरी कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा पुगेर समापन गरिएको थियो।