मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरी बजारका ३० वटा घरटहरा बगायो

Image

हेटौंडा। अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेका अनुसार इलाका प्रहरी कार्यालयको भवन पनि बगाएको जानकारी दिएका छन्।

बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान दुई वटा ढोका खोलिएको कारण बाढी आएको प्रहरीले जनाएको छ ।

बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ भने अविरल वर्षा संगै बिभिन्न ठाउमा पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

स्थानीय तह, सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउदै निरन्तर भईरहेको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउनसक्ने बाढी, पहिरो, डुबनलगायतको अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था राखिएको चिलुवालले बताएका छन।