धनगढी पुगेर देउवाले भने– रवि पक्राउको विरोधमा आन्दोलनको औचित्य छैन

Image

धनगढी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आइपुगेका छन्। उनी आइतबार दिउँसो धनगढी आइपुगेका हुन्।

धनगढी विमानस्थलमा देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले रास्वपा सभामपति रवि लामिछाने पक्राउको विरोध गर्दै आन्दोलनको कुनै तुक नरहेको बताए। लामिछानेलाई कानुनअनुसार कारबाही हुने उनले बताए।

अन्य राजनीतिक दलका नेताहरू पनि विभिन्न मुद्दामा पक्राउ परेर कारबाही भोगिरहेको स्मरण गराउँदै देउवाले कानुनको सबैले पालना गर्नुपर्ने बताए। लामिछाने पक्राउको विरोधमा आन्दोलन गर्नुपर्ने कुनै कारण नरहेको बताउँदै देउवाले उनको छानबिनमा सघाउन आग्रह गरे।

देउवाले सरकारलाई कमजोर पार्ने खालले वर्तमान सरकार ढल्छ भन्ने गलत हल्ला फैलाइएको भन्दै त्यसको विस्वास नगर्न आग्रह गरे। वर्तमान समस्या र अस्थिर सरकारलाई स्थिर बनाउन यो समिकरण बनेकाले पूरै कार्यकाल यही समीकरणले निरन्तरता पाउने सभापति देउवाको दाबी थियो।

धनगढीमा भेटघाटपछि उनी एक हप्ताका लागि गृहजिल्ला डडेल्धुरा पुग्ने जिल्ला सभापति भीमबहादुर साउदले बताए। डडेल्धुरामा देउवा कार्यकर्ता भेटघाट कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सहभागी हुने कार्यक्रम तय भएको छ।

देउवा चौलोले प्रख्यात बडाल जाँत र उग्रतारा मेलामा सहभागी हुने छन्। कार्तिक २६ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा भेटघाट गर्ने कार्यक्रम तय भएको छ। यस्तै कार्तिक २७ गते सभापति देउवा गन्यापधुरा गाउँपालिकाको बडाल जाँतमा सहभागी हुनेछन् भने कार्तिक २८ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैठकमा सहभागी हुने बताइएको छ।

त्यसैगरी कार्तिक २८ पालिकास्तरीय भेटघाट, कार्तिक २९ गते पनि भेटघाट कार्यक्रम, कार्तिक ३० गते जन्मस्थान गन्यापधुरा गाउँपालिका–१ रुवाखोला जाने कार्यक्रम तय भएको छ। यस्तै देउवा मंसिर १ गते उग्रतारा मेलामा सहभागी हुनेछन्।