हेटौंडा/ मकवानपुरको बागमती गाउँपालिकामा आयोजना हुन लागेको आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता यसपटक पुरस्कार राशी र प्रतिस्पर्धी टिमहरूको उपस्थितिका कारण थप रोमाञ्चक हुने संकेत देखिएको छ। आयोजकले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको खेल तालिकासँगै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
बैशाख १७ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल बागमती–४ स्थित सहिद स्मृति रंगशालामा दिउँसो ३:३० बजेबाट सुरु हुनेछ।
प्रतियोगितामा विभागीयसहित देशका चर्चित क्लबहरूको सहभागिताले खेलस्तर उच्च रहने अपेक्षा गरिएको छ। दोस्रो दिन त्रिभुवन आर्मी क्लब र नव जनजागृती क्लबबीच प्रतिस्पर्धा हुनेछ भने तेस्रो दिन एपीएफ क्लब र चित्लाङ एफसी आमनेसामने हुनेछन्। चौथो दिन बाई पाएको चर्च ब्वाइज युनाइटेडले उद्घाटन खेलको विजेतासँग खेल्नेछ।
यस्तै, फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच अर्को प्रतिस्पर्धा तय गरिएको छ भने मछिन्द्र क्लबले एपीएफ र चित्लाङबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको सेमिफाइनल खेल बैशाख २३ र २४ गते हुनेछन् भने उपाधिका लागि निर्णायक भिडन्त बैशाख २६ गते हुनेछ।
कुल १० टिम सहभागी हुने प्रतियोगितामा विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकाससँगै राष्ट्रिय स्तरका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने लक्ष्य राखेको छ। पत्रकार सम्मेलनमा गाउँपालिकाका जनप्रतिनिधि, एन्फा मकवानपुरका पदाधिकारी तथा आयोजक समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।















