सरकारी कडाइले पोल्ट्री व्यवसायमा सुधार, स्थानीय किसानलाई राहत : महासचिव पुडासैनी

Image

हेटौंडा / वर्तमान सरकार गठन भएसँगै भारत लगायत अन्य देशबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थमा कडाइ गरिएपछि मकवानपुर का कुखुरा व्यवसायीहरूले राहत महसुस गरेका छन्। अवैध आयातमा कमी आएसँगै स्थानीय किसानहरूमा नयाँ आशा जागेको बताइएको छ।

मकवानपुर कुखुरा व्यवसायी संघका महासचिव प्रभाकर पुडासैनी का अनुसार लामो समयदेखि तस्करीका कारण स्वदेशी व्यवसायीहरू मारमा परिरहेका थिए। तर पछिल्लो समय सरकारी कडाइका कारण बजारमा प्रतिस्पर्धा केही हदसम्म समान बन्न थालेको र यसले व्यवसायीहरूलाई उत्साहित बनाएको उहाँले बताउनुभयो।

“अवैध रूपमा आउने कुखुरा तथा पोल्ट्रीजन्य वस्तु कम भएपछि हाम्रो उत्पादनले उचित मूल्य पाउन थालेको छ,” पुडासैनीले भन्नुभयो, “अब उत्पादन बढाउने र व्यवसाय विस्तार गर्ने वातावरण बन्दै गएको छ।”

यसैबीच, मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतम र क्षेत्र नम्बर २ का सांसद प्रसान्त उप्रेती सँग भएको छलफलमा पोल्ट्री व्यवसायलाई अझ मजबुत बनाउन आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संघका तर्फबाट महासचिव पुडासैनीले सरकार तथा सम्बन्धित निकायलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोग र कडाइ कायम रहने अपेक्षा व्यक्त गर्नुभयो।