धनगढी । नेपाली कांग्रेस पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मातृशोकमा परेका अत्तरियाका युवा नेता लोकराज पाण्डे ‘आगो’को घरमा पुगेर समवेदना दिएका छन्।
गृहजिल्ला डडेल्धुरा जाने क्रममा देउवाले युवा नेता आगोको घरमा पुगेर समवेदना दिएका हुन्। गृहजिल्ला डडेल्धुराको विभिन्न कार्यक्रममा सहभागी हुन क्रममा देउवा आइतबार धनगढी पुगेका थिए।
देउवाले एक हप्ता गृहजिल्ला डडेल्धुरामा बिताउनेछन्। डडेल्धुरामा देउवा कार्यकर्ता भेटघाट कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सहभागी हुने कार्यक्रम तय भएको छ।
देउवा चौलोले प्रख्यात बडाल जाँत र उग्रतारा मेलामा सहभागी हुने छन्। कार्तिक २६ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा भेटघाट गर्ने कार्यक्रम तय भएको छ। यस्तै कार्तिक २७ गते सभापति देउवा गन्यापधुरा गाउँपालिकाको बडाल जाँतमा सहभागी हुनेछन् भने कार्तिक २८ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैठकमा सहभागी हुने बताइएको छ।
त्यसैगरी कार्तिक २८ पालिकास्तरीय भेटघाट, कार्तिक २९ गते पनि भेटघाट कार्यक्रम, कार्तिक ३० गते जन्मस्थान गन्यापधुरा गाउँपालिका–१ रुवाखोला जाने कार्यक्रम तय भएको छ। यस्तै देउवा मंसिर १ गते उग्रतारा मेलामा सहभागी हुनेछन्।















