हेटौंडा–११ मा २५ जना पूर्व जनप्रतिनिधि तथा अग्रज सम्मानित

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–११ वडा कार्यालयले पञ्चायतकालदेखि २०७४ सालसम्म वडाबाट जनप्रतिनिधिका रूपमा कार्य गर्दै जनताको समृद्धि, सुशासन र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका २५ जना पूर्व जनप्रतिनिधि तथा अग्रज व्यक्तित्वलाई सम्मान गरेको छ।

वडाध्यक्ष जुना दाहालको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले स्थानीय शासन प्रणालीलाई सुदृढ बनाउन तथा विकास निर्माणका कार्यलाई अघि बढाउन पूर्व जनप्रतिनिधिहरूले पुर्‍याएको योगदान स्मरणीय रहेको बताएका थिए।

सम्मानित व्यक्तित्वहरूले विभिन्न कालखण्डमा जनप्रतिनिधिका रूपमा निर्वाह गरेको भूमिका र स्थानीय समुदायको हितमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै वडा कार्यालयले सम्मान व्यक्त गरेको हो।

कार्यक्रममा हेटौंडा–११ का जनप्रतिनिधिहरू गोपिनी सापकोटा, गीता सुनार तथा सदस्य संजय बिडारीलगायत वडा कार्यालयका कर्मचारी र स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
वडा कार्यालयले यस्ता कार्यक्रमले अग्रजहरूको योगदानको कदर गर्दै नयाँ पुस्तालाई जनसेवा र नेतृत्वप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।