हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँ पालिकाले राक्सिराङ्गका किसानका लागि बाख्रा , माछा , नयाँ मौरी पकेट विकास कार्यक्रम गर्ने भएको छ । वडा नम्बर ६ मा माछा प्रवर्द्धनका लागि पोखरी , मत्स्य नर्सरी , ह्याचरी निर्माण , भुरा माछा , औषधि र दाना ८० प्रतिशत र अन्य उत्पादन सामाग्रीमा ५० प्रतिशत अनुदान दिने भएको छ । यस्तै वडा ७ र ९ लगायतका वडामा भने बाख्रा र नयाँ मौरी पकेट विकास कार्यक्रम गर्ने भएको छ ।
बाख्रा प्रवर्द्धन मा खोर निर्माण , नस्ल सुधारको लागि प्रजनन योग्य ब्याड बोका उपलब्ध गराउने साथै औषधि उपचार तथा खोप तथा कृषि औजार उपकरण मा ८० र ५० प्रतिशत अनुदानका सिमा तोकि कार्यक्रम अघि बढाइने गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए । यसैगरी गाउँ पालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन म्यानुअल बमोजिम नयाँ मौरी पकेट विकास कार्यक्रम गर्ने भएको छ ।
गाउँ पालिकाले मौरी पालनलाई १२ लाख रुपैयाँ बिनियोजन गरेको छ भने अनुदानको सिमा लागतको ५० – ८५ प्रतिशत तोकिएको छ । आ. व . २०८१/०८२ को कार्यक्रम हो , फर्म , सहकारी , कृषि समुह र किसानको लागि सूचना जारी गरिएको सुचना अधिकारी रोमन पुडासैनीले जानकारी दिएका छन्। गाउँ पालिकाले कृषि हाट बजार पनि गर्ने भएको जनाइएको छ साथै किसानहरुको आत्मनिर्भरताको लागि थप योजनाहरु रहेको प्रमुख गर्तौलाको भनाइ रहेको छ ।















