चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८० रन बनायो ।

टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गर्यो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।

उनी जिमी निशमको बलमा आउट भए । प्रतियोगिताको आफ्नो पहिलो अर्धशतक उनले २८ बलमा पूरा गरे । १७औं ओभरको दोस्रो बलमा कुशलले जीवनदान पाएका थिए । जिमी निशमको बलमा बाउन्ड्रिमा आसिफ शेखले क्याच ड्रप गरेका थिए । त्यस समयमा कुशलले ५४ रन जोडेका थिए । मोहसिनको तेह्रौं ओभरमा चितवनका कप्तान कुशलले तीन छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा ल्याएका थिए । त्यसपछिको चौधौं ओभरमा अरनिको यादवलाई कप्तान मल्लले २० रन प्रहार गरे । सुरुवाती ११ बलमा ७ रन बनाएका कप्तान कुशलले पछिल्लो ३० बलमा ६५ रन जोडे ।

कुशलले रवि बोपारासँग मिलेर चौथो विकेटका लागि १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए । प्रतियोगितामा चौथो विकेटका लागि भएको यो सर्वाधिक साझेदारी हो । बोपाराले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४४ रन जोडे । बोपारा ललित राजवंशकिो बलमा आउट भए । ओपनर हसन इसाखिल १९ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाउँदै आउट भए । इसाखिल हर्ष ठाकरको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट समातिए । सन्तोष कार्कीले १२ बलमा १४ तथा ओपनर विपिन रावलले १० बलमा ३ रन जोडे ।

जनकपुका लागि ललित राजवंशीले २ तथा हर्ष ठाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान १ विकेट लिए । दुवै टोली लिग चरणको अन्तिम खेल खेलिरहेका छन् । जनकपुर १ खेल अगावै प्लेअफ पुगिसकेको छ भने चितवनलाई प्लेअफ सम्भावना बलियो बनाउँन यस खेलमा जित आवश्यक छ ।