हेटौंडा। हेटौंडा-१९ लेखपानीमा रहेको श्री जीवन ज्योति आधारभूत विद्यालयका विद्यार्थीका लागि न्यानो कपडा वितरण गरिएको छ । केही समयअघि हेटौंडामा सञ्चालन आएको सेवा सहयोग र आवाजमा हामी नामक संस्थाले विद्यार्थीहरुका लागि न्यानो कपडा आवश्यक रहेको जानकारी प्राप्त भएपछि उपलब्ध गराइएको संस्थाका अध्यक्ष विशालराज महतले जानकारी दिए ।
केही समयअघि सञ्चारमाध्यममा न्यानो कपडाको आबस्यकता रहेको समाचारमा आएपछि संस्थाकै सदस्यहरुले अलि अलि रकम संकलन गरी विद्यार्थीहरु लाई कपडा हस्तान्तरण गरिएको अध्यक्ष महतले बताए । विद्यालयमा अध्ययनरत् ४१ बालबालिकाका लागि न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको महतले बताए । सेवा सहयोग र आवाजमा हामी संस्था अध्यक्ष महतको सभाध्यक्षतामा साथै विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह खोलेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै गोलेले विद्यार्थी संख्या थोरै रहेको हुदा बालबालिकालाई विद्यालय ल्याउन घरदैलो कार्यक्रमसमेत गर्ने गरेको बताए । शिक्षकमात्र नभइ अभिभावकले पनि बालबालिकालाई शिक्षामा अगाडि बढाउन भूमिका खेल्नुपर्ने उनको भनाइ रहेको थियो । संस्था अध्यक्ष महतले अलि अलि पैसा जम्मा गरेर विद्यालयमा सहयोगको पहल गरेको बताउदै बालमैत्री घोषणामा नगरले लाखौं बजेट खर्च गरिरहदा यस्ता विद्यालयतर्फ नगरको ध्यान नगएको भन्दै बालमैत्री घोषणामा लगाउने बजेट यस्ता बालबालिकाहरु पहिचान गरी विद्यालयमा लगानी गर्न उनले आग्रह समेत गरे ।
न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोले, संस्था उपाध्यक्ष रामविक्रम थापा, सचिव राजेश थापा, सदस्यहरु हरिबहादुर क“ुवर, सुबोध सुबेदी, राजेश श्रेष्ठ, अभिभावक र शिक्षकलगायतको उपस्थिति रहेको थियो ।
वडा बालमैत्री घोषणा भए पनि कार्यान्वयनको पक्ष भने नभएको र कागजमा सीमित रहेको भन्दै बालमैत्री घोषणालाई कार्यान्वयनमा ल्याउने गरी काम गर्नु आवश्यक रहेको प्रधानाध्यापक गोलेको भनाइ छ । केही हदसम्म भने सुधार भएको उनले बताएका छन् ।















