काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता बन्यो- जनकपुर बोल्ट्स । उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले ट्रफी उचालेपछि अहिले विभिन्न उच्च पदस्थ व्यक्तित्वहरूबाट जनकपुरलाई बधाईको ओइरो लागेको छ । मधेश प्रदेशका विभिन्न स्थानमा आतसबाजी सहित विजय र्याली समेत निकालिएको छ ।
एनपीएल विजेता जनकपुरलाई राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जाल मार्फत बधाई दिनुभएको छ । साथै उहाँले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर अन्यत्र व्यस्त रहनुभयो । तर, इटहरीमा आयोजित नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा पुगेर भने आफ्नो मन कीर्तिपुरमा जारी खेलतिरै भएको बताउनुभयो ।
दर्शकदीर्घाबाट खेल जनकपुर बोल्ट्सले जितिसकेको भन्ने प्रतिक्रिया आएपछि उहाँले मञ्चबाटै विजयी टोलीलाई बधाई दिनुभयो । यस्तै उपविजेता बनेको सुदूरपश्चिम रोयल्सलाई अर्को अवसर पर्खन भन्दै सान्त्वना पनि दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले विजेता जनकपुर र उपविजेता सुदूरपश्चिमलाई बधाई ज्ञापन गर्नुभएको हो ।
अध्यक्ष दाहाल आज दिनभर कीर्तिपुरस्थित त्रिवि मैदानमै हुनुहुन्थ्यो । उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै उपाधि भिडन्त हेर्नुभएको थियो । विजयी टोलीलाई उहाँहरू दुवै जनाले संयुक्तरूपमा ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।
कांग्रेस सभापति देउवाले पनि जनकपुरलाई उपाधि जितेकामा बधाई दिँदै नेपाल क्रिकेट संघ (क्यान) प्रति प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा कृतज्ञता व्यक्त गर्नुभयो ।














