हेटौंडा/ राष्टियता , लोकतन्त्र , समाजवाद जिन्दावाद मुल नाराका साथ आज ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विचार गोष्ठी वी.पी समाज मकवानपुरका अध्यक्ष बिनोदचन्द्र कोईरालाको सभाअध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलेको प्रमुख आतिथ्यतामा नेतृत्वको सक्षमता : उज्यालो भविष्यको भरोसा विषयक विचार गोष्ठी हेटौंडा मा सम्पन्न भएको छ।
किन मनाइन्छ मेलमिलाप दिवस ?
प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारत बाट स्वदेश फर्किएका थिए ।
नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी २०३३ साल पुस १६ गते स्वदेश फर्केको दिनको स्मरणमा मेलमिलाप दिवस मनाइँदै आएको छ ।
यसअघि २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको ‘कू’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो ।
आठ वर्षपछि ०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखि राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४९ वर्षअघि आजैका दिन कोइरालालगायत नेताहरु नेपाल फर्किएका थिए ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालालगायत नेताले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४९ वर्षअघि स्वदेश फर्किएका थिए ।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । ०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एकपटक सुन्दरीजल बन्दीगृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी संग्रहालयमा परिणत गरिएको छ ।
सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासंग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) तथा जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखेका थियो । बन्दीगृहमा बस्नुअघि २००८ सालमा उनकाे ‘दोषी चश्मा’ कथासंग्रह प्रकाशन भएको थियो ।

कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रूपमा चिनिन्छन् । २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ । वी. पी. विचार समाज , मकवानपुरको आयोजित कार्यक्रममा बिभिन्न पार्टीका नेताहरुले पार्टीमा एकता र मेलमिलापमा अगाडि बढ्नुपर्नेमा जोड दिदै वी.पी.को जस्तो बिचार लिएर नेतृत्वमा अगाडि बढ्नुपर्ने भनाई राखेका थिए। कार्यक्रममा नेकपा समाजवादीका नेता बिष्णु दाहाल , नेकपा एमालेका नेता अनन्त पौडेल, नेकपा माओवादी केन्द्रका नेता प्रल्हाद लामिछाने, नेपाली काँग्रेसका नेता सधुरमण न्यौपाने,नेपालि काँग्रेसकी नेता उमा दाहाल लगायतको उपस्थिति मा कार्यक्रम भएको थियो।

















