काठमाडौं । गएको पुस २२ गतेदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेको अग्रवाल परिवारको सूचना अझै अज्ञात छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोली अग्रवाल परिवारको खोजीमा सक्रिय छ ।
प्रहरीले नेपालमा रहेका अग्रवाल परिवारका आफन्तसँग सोधखोज गरिसकेको छ । केही आफन्त नेपालबाहिर भारतमा रहेकाले प्रहरीलाई उनीहरुसँग पुग्न सहज नभएको अधिकारीहरु बताउँछन् । तर परिवारको लोकेसेन अन्तिमपटक मधेस प्रदेशको नेपाल–भारत सीमानजिक भेटिएको छ ।
एक अधिकारीले भने,“यो प्राविधिक कुरा हो । कतिपय अवस्थामा लोेकेसन पनि मेल खाँदैन । सम्भवतः केही दिनमा हामी केही निष्कर्षमा पुग्न सक्छौं ।” प्रहरीले उनीहरुले काठमाडौं छाडेको भने निष्कर्ष निकालेको छ । अग्रवाल परिवारले छाडेको पत्रमा पनि काठमाडौं छाड्न लागेको उल्लेख छ ।
प्रहरीले अग्रवाल परिवारले प्रयोग गर्दै आएको गाडीको खोजी पनि गरिरहेको छ । तर उनीहरु आफ्नै गाडीबाट नभएर अर्कै सवारी–सधानको प्रयोग गरेर गएको हुन सक्ने प्रहरी आशंका छ । यस्तोमा उनीहरुले गाडी कतै लुकाएको हुन सक्ने प्रहरी बुझाई छ ।
महँगो विदेशी कम्पनीका मदिराको व्यवसाय गर्दै आएका अभिषेक र अमित अग्रवालको परिवार सम्पर्कविहीन भएको हो । तीन अर्ब रुपैयाँभन्दा बढी ऋणमा फसेपछि सो परिवार सम्पर्कविहीन भएको हो ।
सम्पर्कविहीन हुनेमा ओम अग्रवाल, उषा अग्रवाल, अमित, रुचिका, अभिषेक अग्रवाल छन् । यस्तै, आरती अग्रवाल, नन्दनी, पार्थ र कनव अग्रवाल छन् । घर छाड्नुअघि अग्रवाल परिवारले घरभित्र एक पत्र छाडेर गएको थियो ।
प्रहरीले सो पत्रलाई क्लुको रुपमा लिएको छ । पत्रमा ओमप्रकाश अग्रवाल, उनकी पत्नी उषा, छोरा अभिषेक र अमितले हस्ताक्षर गरेका छन् । पत्रमा बैंकको ब्याज तिर्न र अरू व्यक्तिहरूलाई ब्याज तिर्न समस्या भएको उल्लेख छ । सोही पत्रमा मिटर ब्याजीको फन्दामा परी आफ्नो सम्पत्ति सिद्ध्याइसकेको समेत उल्लेख छ ।
तर पुस मसान्तमा बैंकहरुले ब्याजका लागि ताकेता धेरै गर्ने भएकाले उनीहरु केही समयका लागि सम्पर्कविहीन भएको हुनसक्ने कतिपयको बुझाइ छ । विगत २५ वर्षदेखि व्यापार गर्दै आएको परिवार एकाएक सम्पर्कविहीन भएपछि प्रहरीले उनीहरू जान सक्ने सम्भावित स्थानहरूमा खोजी गरिरहेको छ ।
एक अधिकारीले अग्रवालका आफन्तको भनाई उद्धृत गर्दै भने,“पहिले पनि उहाँहरु बेलाबेला भारत जानुहुन्थ्यो । १–२ महिना बस्ने गर्नुभएकै हो । तर यसरी पूरै परिवारै जाने सम्पर्कविहीन हुने अवस्था थिएन ।”
उनीहरुले तिर्नुपर्ने मात्र नभएर लिनुपर्ने रकम पनि देखिएको बताइएको छ ।















