कांग्रेस कार्यसम्पादन समिति गठनको तयारी; के हो कार्यसम्पादन समिति ?

Image

काठमाडौं । गएको मंसिरमा सुरु भएर पुस पहिलो साता नेपाली कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भयो । पार्टीको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको एक महिना बितिसकेको छ ।

योबीचमा पार्टीको दुईपटक केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भइसकेको छ । पहिलो बैठकले धन्यवाद ज्ञापन र राष्ट्रियसभा सदस्य निर्वाचनका केही विषयमा निर्णय गर्‍यो । दोस्रो कार्यसमिति बैठक राष्ट्रियसभा निर्वाचनमा पार्टीको तर्फबाट उमेदवार टुंगो लगाउनमा केन्द्रित भयो । तर, संगठनको आन्तरिक विषयमा भने घनीभूत छलफल भएको छैन ।

भोलि अर्थात् शुक्रबारलाई केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी छ । तर, बैठक बस्ने निर्णय भने भइसकेको छैन । कोरोना संक्रमणलाई ध्यानमा राखेर भर्चुअल माध्यमबाट कार्यसमिति बैठक बोलाउने तयारी गरिएको छ । पार्टी महामन्त्री विश्वप्रकाश शर्माका अनुसार भर्चुअल बैठक बोलाउने तयारी भए पनि यसको प्रक्रियाको बारेमा निर्णय भइसकेको छैन ।

“भर्चुअल बैठक बस्ने भनिए पनि कसरी बस्ने, माध्याम के प्रयोग गर्ने, सभापतिज्यूले बालुवाटार कि सानेपा बसेर बैठकमा सहभागी हुने भन्ने विषयहरू मिलेको छैन,” उनले भने ।

कार्यसम्पादन समिति गठन हुँदै

केही दिनअघि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाउने र कार्यसम्पादन समिति गठन गर्ने विषयमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच खड्का निवासमा छलफल भएको थियो । पार्टीलाई सुरुबाटै विधानसम्मत सञ्चालन गर्नुपर्ने पक्षमा रहेका यी तीनबीच कार्यसम्पादन समिति गठन गर्ने विषयमा छलफल भएको थियो ।

छलफलपश्चात् उनीहरू तीनैजना सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । बालुवाटारमा उपसभापति र महामन्त्रीद्वयसँगको छलफलपछि देउवा केन्द्रीय कार्यसमिति बैठक बोलाउने र कार्यसम्पादन समिति गठन गर्ने विषयमा सकारात्मक देखिए ।

तर, कोभिड–१९ का समयमा सरकार प्रमुख नै सरकारले तोकेको मापदण्डविपरीत जान नहुने भएपछि भर्चुअल माध्यमबाट ‘जम्बो’ कार्यसमिति बैठक बोलाउने विषयमा छलफल भयो । छफलबाटै देउवा शुक्रबारलाई भर्चुअल बैठक बोलाउन तयार भए ।

महामन्त्री गगन थापाका अनुसार शुक्रबार बैठक बोलाएर कार्यसम्पादन समिति गठन गर्ने तयारी भए पनि शुक्रबारै बैठक बस्ने निर्णय भने भइसकेको छैन । तर, बैठकको एउटै मात्र एजेन्डा कार्यसम्पादन समिति गठन गर्नु रहेको उनले बाह्रखरीसँग बताए ।

“एजेन्डा नै कार्यसम्पादन समिति गठन गर्ने गरी बैठक बोलाउने हो । शुक्रबार नबसे एक–दुई दिनभित्र बस्छ,” उनले भने ।

के हो कार्यसम्पादन समिति ?

नवौँपटक ०७५ सालमा संशोधन गरिएको नेपाली कांग्रेसको विधान, २०१७ मा तल्लो गाउँपालिका वडा समितिदेखि नै कार्यसम्पादन समिति निर्माण गर्नुपर्ने व्यवस्था छ । विधानले नै गाउँपालिका वडा कार्यसम्पादन समितिदेखि केन्द्रीय कार्यसम्पादन समितिसम्मको काम, कर्तव्य र अधिकार स्पष्ट पारेको छ ।

कांग्रेस विधानको धारा २३ मा केन्द्रीय कार्यसम्पादन समिति गठनसम्बन्धी व्यवस्था छ । धारा २४ मा केन्द्रीय कार्यसमिति बैठक नबसेको अवस्थामा कार्यसमितिले गर्ने कार्यहरू कार्यसम्पादन समितिले गर्न पाउने उल्लेख छ ।

केन्द्रीय सदस्य मीन विश्वकर्मा पार्टीको दैनिक कार्य सञ्चालनका लागि आवश्यक निर्णय लिनका लागि कार्यसम्पादन समिति गठन गर्नुपर्ने बताउँछन् ।

तर, कार्यसम्पादन समितिलाई नीतिगत निर्णय गर्ने अधिकार भने छैन । कार्यसम्पादन समितिले गरेका निर्णयहरू लगत्तै बस्ने कार्यसमिति बैठकबाट अनुमोदन भने हुनुपर्छ ।

केन्द्रीय कार्यसमितिले निर्णय गर्न नभ्याएका विषयहरूमा निर्णय गर्न पाउने अधिकार कार्यसम्पादन समितिलाई हुने विश्वकर्मा बताउँछन् । “कार्यसम्पादन छिटो–छरितो गर्नका लागि कार्यसम्पादन समिति बनाइएको हो । तर, यसले नीतिगत निर्णय भने गर्न पाउँदैन,” उनले भने, “कार्यसम्पादन समितिले गरेका निर्णयहरू लगत्तै बस्ने केन्द्रीय कार्यसमिति बैठकले अनिवार्य अनुमोदन गर्नुपर्ने हुन्छ ।”

उनी थप भन्छन्, “हाम्रो पार्टीले सात दिनको समय दिएर केन्द्रीय कार्यसमिति बोलाऊ, त्यसमा एजेन्डा वा विषय खुलाएर बैठक बोलाऊ भन्छ । विषय पनि खुल्दैन, सात दिन पनि समय छैन बैठक नबसी पनि भएको छैन । यस्तो अवस्थामा कार्यसम्पादन समितिको बैठक बोलाएर निर्णय गर्ने र पछि केन्द्रीय कार्यसमितिमा लगेर अनुमोदन गराउने भनेर केन्द्रीय कार्यसम्पादन समिति विधानमा राखिएको हो ।”

यस्ता छन् विधानमा केन्द्रीय कार्यसम्पादन समितिको काम, कर्तव्य र अधिकार
१. कार्यसमितिको एउटा बैठक र अर्को बैठकको बीचमा कार्यसमितिले गर्नुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ ।
२. कार्यसम्पादन समितिले आफ्नो निर्णय कार्यसमितिको बैठकमा पेस गरी अनुमोदनका लागि प्रस्तुत गर्नेछ ।
३. पार्टीका केन्द्रीय विभागको कामको समीक्षा गर्नेछ ।
४. समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका संयोजकसँग संयुक्त रूपमा विषयगत छलफलको आयोजना गर्नेछ ।

यसरी हुन्छ गठन

विधानानुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रत्येक महिनामा एकपटक अनिवार्य बस्नुपर्ने हुन्छ । अर्थात्, वर्षमा कम्तीमा १२ पटक कार्यसम्पादन समितिको बैठक बस्नुपर्ने हुन्छ । जबकि, विधानले केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा एकपटक अनिवार्य गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका १४ पदाधिकारीहरू स्वतः पदेन सदस्य हुन्छन् । सभापतिले ३१ केन्द्रीय सदस्यहरूलाई कार्यसम्पादन समितिमा अनुमोदन गर्न पाउँछन् । जसमा समावेशी सिद्धान्तलाई अनिवार्य गरिएको छ ।

यस्तै, संसदीय दलका नेता र केन्द्रीय प्रवक्ता पनि कार्यसम्पादन समिति सदस्य बन्न पाउने व्यवस्था छ । अर्थात्, ४७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बनाउनुपर्ने हुन्छ । वर्तमान अवस्थामा कांग्रेसका सभापति र संसदीय दलका नेता एकै व्यक्ति भएकाले ४६ सदस्यीय कार्यसम्पादन समिति गठन हुनेछ ।

कांग्रेस विधानको धारा २३ मा केन्द्रीय कार्यसम्पादन समितिको गठन सम्बन्धमा उल्लेख छ
१. केन्द्रीय कार्यसमितिको सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, पदेन ।
२. सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि एकतीसजना सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्नेछ । उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्नेछ ।
३. संसदीय दलको नेता केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछ ।
४. केन्द्रीय कार्यसमितिका प्रवक्ता ।
५. केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रत्येक महिनामा कम्तीमा एकपटक बस्नेछ । बाह्रखरीबाट