अस्पतालले अब बीमितलाई रिफर गर्दैमा भुक्तानी नपाउने

Image

काठमाडौं । बिरामी रिफर मात्रै गर्ने अस्पताललाई स्वास्थ्य बीमा बोर्डले पैसा नदिने भएको छ । स्वास्थ्य बीमा गराएकालाई सामान्य जाँच पनि नगरीकन अर्को अस्पताल रिफर गर्ने अस्पताललाई पैसा नदिने स्वास्थ्य बीमा बोर्डले बताएको हो । बीमा बोर्डबाट एक बीमित बिरामीलाई रिफर गरेबापत २०० रुपैयाँ सो अस्पतालले प्राप्त गर्छ ।

देशभर बीमितको उपचार गर्ने अस्पताल ४३४ वटा छन् । प्रायः अस्पतालले बीमा बोर्डले तोके अनुसार कुनै पनि प्राथमिक सेवा नदिई रिफर गरेको पाइएको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकृत शोभित रिजालले बताए । स्वास्थ्य बीमा नियमावली २०७५ को अनुसूची ९ को (नियम २० को उपनियम (२) सँग सम्बन्धित) अनुसूची ९ मा बिपी, पल्स, धड्कन, ज्वरो, श्वासप्रश्वास जाँच गरेर मात्रै सम्बन्धित अस्पतालले रिफर गर्नुपर्छ । तर, अस्पतालहरूले रिफर गर्दा केही पनि जाँच नगरीकन बोर्डलाई प्रेषण पुर्जी पठाउने गरेका छन् ।

उनले भने, ‘अर्को अस्पतालमा रिफर गर्दा बिरामीको केही पनि जाँच नै नगरीकन पठाउने बीमा बोर्डसँग क्लेम गर्नेलाई पैसा बोर्डले दिँदैन ।’ अस्पतालमा पुग्ने बीमितलाई उनीहरूले भनेकै आधारमा जाँच नगरीकन रिफर गर्ने अस्पतालहरूलाई प्रति बिरामी २०० रुपैयाँ काटी दिइएपछि अस्पतालमै उपचार गर्छन् कि भन्ने अपेक्षा रहेको उनले बताए ।

उनले भने, ‘दुई सय रुपैयाँ नपाएको कारणले बिरामीलाई रिफर गरेनन् र आफैले बिरामीको जाँच गर्न थाले भने निजी अस्पतालहरूमा उपचार गर्न जानेको दर पनि घट्छ ।’ स्वास्थ्यसम्बन्धी चेतना बढ्नु सकारात्मक कुरा भए पनि रोग लागेर बीमाको चेकजाँच गर्ने कति अस्पताल पुग्छन् भन्ने बारे अध्ययन गर्न अत्यन्त जरुरी चिकित्सकहरू बताउँछन् ।

सेवा शाखामा गुनासै गुनासो

अस्पतालमा उपचार गराउन पुग्नेहरूले सेवा शाखामा उपचार र औषधि नपाएको बारम्बार गुनासो गर्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । स्वास्थ्य बीमा गराए पनि अस्पतालले उपचार गरिदिएन भन्दै बारम्बार कल आउने सूचना अधिकारी रिजालले बताए । स्वास्थ्य बीमा गराएकाहरूले सरकारले तोकेका अस्पतालमा मापदण्डमा आधारित भई उपचार पाउने उनको भनाइ छ । ’स्वास्थ्य बीमा गराउँदा नजिकैको जुन अस्पतालमा उपचारका लागि नाम लेखिएको छ । त्यही अस्पतालमा उपचार गर्न जानुपर्छ,’ उनले भने, ‘यदि त्यस अस्पतालमा उपचार नभएको खण्डमा सोही अस्पतालबाट रिफरल लेटर लगेर अर्को अस्पतालमा उपचार गर्न पाइन्छ ।’

वार्षिक रूपमा ३५०० तिरेर स्वास्थ्य बीमा गराएकाले एक लाख रुपैयाँसम्मको औषधि उपचार गर्न पाउँछन् । त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक अनुसार वार्षिक ३५ सयको स्वास्थ्य बीमा गरेर टाठाबाठले एक लाखसम्मको सुविधा लिने गर्छन् । केहीले आवश्यकता भन्दा बढी फाइदा उठाइरहेका छन् भने केहीले अस्पतालकै मनोमानीका कारण औषधि समेत समयमै पाएका छैनन् ।

अस्पतालहरूले बीमा बोर्डबाट गएको पैसाले अन्यत्र खर्च गर्ने हुँदा बीमितले औषधि नपाएको स्वास्थ्य बीमा बोर्डका कर्मचारीको भनाइ छ । ती कर्मचारीले भने, ‘बीमाबाट गएको पैसाले तलब भत्ता ख्वाउँछन् ,अन्तअन्त खर्च गर्छन् । तर औषधि किन्दैनन् ।’

यो पनि 

२८ प्रतिशत घरपरिवारले मात्रै गरे स्वास्थ्य बीमा; कुन-कुन प्रदेशबाट कति ? (सुची-सहित)