पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अगाडि बढाउन सहमत छौँ : नरेन्द्र मोदी

Image

काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर हुने बताए।

उनले पञ्चेश्वर परियोजनालाई अगाडि बढाउने र त्यसको महत्वमा जोड दिएको बताएका छन् ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा दुई देशबीच ऊर्जा साझेदारीमा महत्वपूर्ण हुने मोदीको भनाइ छ । ऊर्जा सहकार्यमा हाम्रो संयुक्त दृष्टिकोण आपसी सहयोगको ब्लुप्रिन्ट सावित हुनेछ । हामीले पञ्चेश्वर परियोजनामा तीव्र गतिले अगाडि बढ्ने र त्यसको महत्त्वमा जोड दिएका छौं । यो परियोजना यो क्षेत्रको विकासका लागि एक गेमचेन्जर सिद्ध हुनेछ ।

भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको मोदीले उल्लेख गरेका छन् । नेपालले आफूलाई बढी भएको विद्युत् भारतमा निर्यात गरिरहेकोमा मोदीले प्रसन्नता व्यक्त गरेका छन् । उनले त्यसले नेपालको आर्थिक प्रगतिमा राम्रो योगदान हुने विश्वास व्यक्त गरेका छन् ।पछिल्लो तीन दशकदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा समेत राखेको छ ।

तर पछिल्ला वर्षहरूमा परियोजनामा ठोस प्रगति भएको देखिँदैन । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंग्याउने विषयलाई पञ्चेश्वरमा अहिले देखिएको सबैभन्दा जटिल समस्या ठानिएको छ । नेपालको जल तथा ऊर्जा आयोगका सचिव र भारतको ऊर्जा आयोगका सचिव रहने विज्ञ समूह (टिम अफ एक्सपर्ट) ले पञ्चेश्वरको डीपीआर टुंग्याउने जिम्मा पाएको छ । तर सन् २०१९ फेब्रुअरीयता विज्ञ समूहको बैठक बस्न सकेको छैन । डीपीआर टुंग्याउन अघिल्लो पटक दिइएको समयसीमा गुजारेपछि विज्ञ समूहलाई थप एक वर्ष समय दिइएको थियो ।

२०१९ नोभेम्बर २९ मा भारतमा बसेको प्राधिकरणको सञ्चालक समितिस्तरीय ‘जोइन्ट गभर्निङ बडी’ ले समयावधि लम्ब्याएर २०२० नोभेम्बरसम्म बनाए पनि यसबीचमा एउटा पनि बैठक बसेन । यसअघि नेपाल सरकार तथा भारत सरकार बीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजना सम्बन्धमा वि.सं.२०५२ माघ २९ गते सन्धि सम्पन्न भएपछि यो आयोजना द्वि–राष्ट्रिय लगानीमा संयुक्त रुपमा सञ्चालन गर्ने निर्णय भएको थियो । वि.सं.२०६६ मंसिर ९ गते नेपाल सरकारको जलस्रोत मन्त्रालयका सचिव तथा भारत सरकारको जलस्रोतको संयुक्त समितिको बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमति भएको थियो ।