बैतडी । चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा नागरिक सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको छ ।
नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयबासीहरुलाई सञ्चारको समस्या भएको छ । एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको स्थानीयबासी दोगडाकेदार गाउँपालिकाका काशीसिंह विष्टले जानकारी दिए ।
नेपाल टेलिकम बैतडीलाई समस्या समाधानबारे जानकारी गराएको भएपनि हालसम्म पनि बन्न नसकेको स्थानीयबासीको आरोप रहेको छ ।
यता नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले भने यहाँका विभिन्न टावरमा परेको चट्याङले क्षति पुर्याएकाले नेटवर्कमा समस्या आएको बताए । खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको टमाटाले बताए ।
टावर मर्मतको लागि धनगढीबाट प्राविधिकको टोली आएर मर्मत सुरु गरिससकेको बताए । उनले भने,“प्राविधिक टोली दुईदिनदेखि टावर मर्मतमै छ, आवश्यक केही सामान जिल्लामा उपलब्ध नहुदाँ समस्या भएको छ, एक/दुई दिनभित्रै समस्या समाधन हुन्छ ।”















