६ वटा कम्पनीकाे आईपीओ जारी हुँदै, कुनकाे कहिले निष्काशित हुँदै छ त ?

Image

काठमाडौं । गत बुधबार नेपाल धितोपत्र बोर्डले विगत ५ महिनादेखि रोकिएको आइपीओ निष्कासन अनुमति दिने फाइल अघि बढायो । एकै पटक ६ कम्पनीहरूको शेयर निष्कासन अनुमति समेत दियो ।

यो सँगै ती कम्पनीहरुले यो हप्ता आइपीओ निष्कासन गर्ने तयारी गरेका छन् । कम्तीमा पनि यो शुक्रबार १ कम्पनीले आइपीओ निष्कासन गर्न सक्ने अनुमान गरिएको छ ।

यो हप्ता पनि बाकी कम्पनीहरुले आइपीओ निष्कासनको अनुमति पाउने र संख्या बढ्दै जाने भएको हुँदा क्रमस आवेदन खोल्दै जानु पर्ने हुन्छ । बोर्डमा ७ अर्ब हाराहारीको २५ भन्दा धेरै कम्पनीको आइपीओ निष्कासनको लागि पाइपलाइनमा छन् । बोर्डमा प्रमुख नहुँदा आइपीओ निष्कासन प्रभावित भएको थियो ।

अनुमति पाउने कम्पनीहरुलाई बलेफी हाइड्रोपावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेन्चरलाई ६२ लाख ५० हजार कित्ता, नेष्डो समृद्धि लघुवित्तलाई ८ लाख २८ हजार ७५० कित्ता सेयर आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

जाल्पा सामुदायिक लघुवित्तलाई ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तलाई, ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपाललाई ५ लाख ५५ हजार ६०० कित्ता सेयर आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

जसमा बलेफी हाइड्रोपावरको आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल, ग्रिन भेन्चरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट चयन भएका छन् ।

नेष्डो समृद्धिको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, जाल्पा सामुदायिक लघुवित्तको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, राष्ट्र उत्थान लघुवित्तको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल र इमर्जिङ नेपालको आइपीओमा बिक्री प्रबन्धकको रुपमा एनआइसी एसिया क्यापिटल चयन भएका छन् ।