कैलाली । कैलालीमा सिडिओद्वारा नयाँ आदेश जारी भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले कोभिड–१९ को ग्राफ घट्न थालेपछि १६ बुँदे आदेश जारी गरेका हुन्। बुधबार भएको जल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी)ले गरेको निर्णयअनुसार आजदेखि लागू हुने गरी आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
सूचना अधिकारी शिवराज जोशीका अनुसार फागुन १ गतेदेखि खोप लगाएको सुनिश्चत गरेर स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालयलगायतका शैक्षिक संस्था सञ्चालन गर्न पाइने भएको छ। नयाँ आदेश अनुसार आमसभा, जुलुस, भेला आयोजनामा भने रोक कायमै राखिएको छ। विभिन्न गोष्ठी, सेमिनार, समिक्षा बैठक गर्दा सकेसम्म अर्चुअल गर्ने र भौतिक उपस्थितीमा गर्नै परे बढीमा ५० जना मात्रै सहभागी गर्न पाइने छ। सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, हाटबजार स्वास्थ्यको मापदण्ड पूरा गरेर क्षमताको ५० प्रतिशत उपस्थित गराएर मात्र सञ्चालन गर्ने अनुमति दिइएको छ।
यस्तै व्यवसाय सञ्चालन गर्दा भने एक पटकमा २५ जनाभन्दा बढी सहभागी नहुने गरी सञ्चालन गर्न, धार्मिक कार्यक्रम गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्न, दर्शक सहितको खेलकुद कार्यक्रम गर्दा क्षमताको ५० प्रतिशत मात्रै उपस्थिती गराउन पनि आदेशमा उल्लेख गरिएको छ। यो आदेश अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिनेशखबरलाई जानकारी दिए। सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न र मास्क नलगाएका यात्रु नचढाउन पनि आदेश गरिएको छ।

















