काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी फागुन ११ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। काठमाडौंमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल हुने राप्रपा नेता सुन्दर पाण्डेले जानकारी दिए। बैठकमा समसामयिक विषयवस्तुमा समीक्षा पनि हुने उनले बताए।
जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने कार्ययोजना छ। पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आमजनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना छ।
आगामी फागुन महिनालाई प्रशिक्षणको महिनाका रूपमा गतिविधि सञ्चालन गरी पार्टीको संगठन सुदृढीकरण गर्ने भएकाले केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण कसरी सञ्चालन गर्ने विषयमा पनि छलफल गरिनेछ। देशव्यापीरूपमा राजनीतिक कार्यक्रम सञ्चालन गरी स्थानीय तहको निर्वाचनमा पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्नेछ।
आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई अत्यधिक सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकत्वमा स्थानीय तह निर्वाचन विशेष कार्ययोजना निर्माणका क्रममा छ।
पार्टीले राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तहलगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा समान विचार भएका संगठनसँग एकता तथा सहकार्यका लागि वार्तालाई निरन्तरता दिएको छ भने समावेश भइसकेका र हुने व्यक्ति, समूहलाई उचित जिम्मेवारी दिने जनाएको छ। रासस