काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च स्वास्थ्य अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । उक्त निर्णयअनुसार मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा. कृष्णप्रसाद पौडेल सरुवा गरिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमललाल दासलाई लगिएको छ । सोही अस्पतालका चिकित्सक डा. यज्ञ खरेललाई भने मेसुको जिम्मेवारी दिइएको छ।
सुधा देवकोटालाई राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रमै फिर्ता गरिएको छ। केन्द्रीय कारागार अस्पतालमा प्रकाशप्रसाद साहलाई पठाइएको छ।
राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका प्रमुख डा. सञ्जय ठाकुरलाई पठाइएको छ। हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान केन्द्रका प्रमुख यदुचन्द्र घिमिरेलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा लगिएको छ । तालिम केन्द्रका प्रमुख केशव पण्डितलाई केन्द्रमा पठाइएको छ।
कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकमा भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधी बसौलालाई जिम्मेवारी दिइएको छ।