काठमाण्डाैं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा रहेका नदीको पानी उपयोग गर्दै विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घको १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसँग गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री खाँणले स्वदेश मै उत्पादित विद्युत् सबै नेपालीहरूको घरघरमा पुर्याएर खपत बढाएमा मात्रै पेट्रोलियम पदार्थको आयात घटाउन सकिने बताए ।
उनले आयात र निर्यातमा सन्तुलन नभएको र व्यापार घाटा बढ्दो रहेको पनि बताए । विद्युत् उत्पादन गरेर खपत गर्न सक्ने अवस्था बन्यो भने मात्रै व्यापार घाटा कम गर्न सकिने उनको धारणा थियो । उनले नेपालको संविधान २०७२ राजनीतिक दल बीचको सहमतिबाट संशोधन र परिमार्जन गर्न सकिने जानकारी गराउँदै संविधान संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकतालगायत सहुलियत दिन सकिने र त्यस विषयमा सरकार सकारात्मक रहेको बताए ।
नेपालको राज्य प्रणालीले गैरआवासीय नेपालीलाई विदेशी मान्न तयार नरहेको भन्दै राज्य गैरआवासीय नेपाली कहिले नेपाल फर्किन्छन् भन्ने प्रतीक्षामा रहेको बताए । संविधानमा व्यवस्था भएअनुरूप कानून बनाएर गैरआवासीय नेपालीलाई नागरिकता दिन सरकारले पहल गर्ने गृहमन्त्री खाँणको भनाइ थियो । उनले गैरआवासीय नेपालीलाई नेपाल आउन र नेपालबाट बाहिर जान सहज बनाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेस्क’ स्थापनाको तयारी सरकारले गरिरहेको बताए ।
भेटमा गृहमन्त्री खाँणलाई एनआरएनएका तर्फबाट पाँच बुँदे मागपत्र बुझाइएको थियो । मागमा गैरआवासीय नागरिकलाई गैरआवासीय नागरिकता दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने र फर्किनेलाई अन्तर्राष्ट्रिय विमानस्थलमा सहज वातावरण निर्माण गरिनुपर्ने, जन्मस्थान नेपाल लेखेका राहदानीवाहकलाई नेपाल प्रवेशाज्ञामा सहज बनाइदिनुपर्ने लगायत उल्लेख छ । भेटमा नवनिर्वाचित अध्यक्षद्वय कुल आचार्य र डा.बद्री केसीले मागबारे आफ्ना धारणा राखेका थिए ।