काठमाडौं ।
नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा रूपन्देही–११ ले विजयी सुरुवात गरेको छ । समूह ‘ए’ मा रहेको रूपेन्देहीले आज सम्पन्न उद्घाटन खेलमा मलेसिया–११ माथि ६ विकेटको सहज जित हात पारेको हो ।
१३२ रनको लक्ष्य रूपन्देहीले १९.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि प्रज्जोल थापाले सर्वाधिक ३८ रनको योगदान दिए । ३२ बलको सामना गरेका उनले पाँच चौका र एक छक्का प्रहार गरे । अविजित रहेका वसिर अहमदले २७ र सन्दीप रजालीले २४ रनको योगदान दिँदा देव खनालले २२ रन जोडे ।
पहिलो विकेटका लागि ५२ रनको साभेदारी गर्दै प्रज्जोल र देवले रूपन्देहीलाई राम्रो सुरुवात दिलाएका थिए । पाँचौ विकेटका लागि वरिस र सन्दीपले अविजित ४२ रनको साझेदारी गरे । मलेसियाका लागि वीरन्दीप सिंहले दुई तथा मोहम्मद आमिर र सैयद अजिजले एक/एक विकेट हात पारे ।
यसअघि भैरहवाको सिदार्थनगरस्थित सिदार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन बनाएको थियो ।
मलेसियाका लागि वीरन्दीप सिंहले ६६ रनको अर्धशतकीय पारी खेले । ६३ बलको सामना गरेका उनले सात चौका र उक छक्का प्रहार गरे । शार्भिन मुनिएन्डीले २८ र सैयद अजिजले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
रूपन्देहीका लागि कृष्ण कार्कीले तीन, वसिर अहमदले दुई तथा विक्रम भुषाल, अनिल खरेल र दुर्गेश गुप्ताले एक–एक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो । जितसँगै रूपन्देहीले २ अंक जोड्दा मलेसियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
समूह ‘ए’ अन्तर्गत आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लबले पुस स्पोर्ट्स क्लब दिल्लीबीच प्रतिस्पर्धा हुनेछ । जोहरा स्पोर्ट्सको आयोजनामा तीन वैशाखसम्म चल्ने प्रतियोगिताको समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, उत्तर प्रदेश–११ र ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी छन् ।