हेटौंडामा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाईने : पलास्टिकजन्य फूल बिक्री वितरण गर्न पूर्ण रूपमा रोक

Image

हेटौंडा। मकवानपुरमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले यो निर्णय गरेको हो राति ९ बजेसम्म मात्रै देउसी भैलो लगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न पाउने भन्दै जिल्ला प्रशासन मकवानपुरद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै चाडपर्व खुशियाली मनाउँदा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जिवनमा असर नपर्ने गरि मनाउन प्रशासनले आग्रह गरेको छ । साथै तिहार र छठ पर्व मनाउने क्रममा पटाका प्रज्वलनशील पदार्थको प्रयोगबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाे हुँदा त्यस्ता पदार्थको भण्डारण, बिक्री वितरण साथै ओसार पसार तथा प्रयोग नगर्न नगराउन समेत अनुरोध गरिएको छ ।

कानूनले निषेध गरेका जुवा, तास, लङ्बुरगुर्जा खेल्ने खेलाउने जस्ता क्रियाकलापहरू नगर्न विज्ञप्तीमा भनिएको छ । त्यस्तै, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू नगर्न प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालद्धारा हस्ताक्षरित विज्ञप्तिमा अनुरोध गरिएको छ ।

नेपाल सरकारले प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण साथै भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएकाले उक्त कार्य गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाहि गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।