कैलाली : सुदुरपश्चिमको मुख्य बजार धनगढी समेत रहेको क्षेत्र कैलाली–५ बाट कांग्रेसले डा.आरजु राणा देउवालाई आगामी संघीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। प्रदेश कार्यसमितिले बिहीबार राणाको एकल नाम सर्वसम्मतिले संघीय निर्वाचनको उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
समावेशी समानुपतिकतर्फ भने १३ जनाको नाम सिफारिस गरिएको कांग्रेस कैलाली जिल्ला सचिव नृप सुनारले बताएका छन्|
त्यस्तै उक्त समितिले समानुपातिकका लागि सिफारिस हुनेहरूमा प्रदेश महामन्त्री रहेका नरनारायण शाह मनु, वर्तमान प्रदेशसभा सदस्य तथा राज्यमन्त्री रहेका टेक बहादुर रैका, केन्द्रीय सदस्य तथा पूर्व मेयर नृप वड, केन्द्रीय सदस्य तथा पूर्व उपमेयर शुशीला मिश्र भट्ट लगायत छन्।
प्रतिनिधि सभाको २०७४ को निर्वाचनमा राणा तत्कालीन वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग ४ हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्। त्यसबेला रानाले २७ हजार २०२ मत प्राप्त गरेका थिए भने राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन्।
हाल सोहि क्षेत्रको धनगढ़ी उपमहानगरपालिकामा मेयर स्वतन्त्र उम्मेदवार गोपाल हमालले जितेका छन्|
















