हेटौंडा/ मकवानपुर उद्योग वाणिज्य संघ ले हेटौंडाको टीसीएन चौरमा सञ्चालन भइरहेको “दोस्रो बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव २०८२” मा आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा आफू जिल्ला भरिका उद्योगी तथा व्यापारीहरूको हक–हित संरक्षण गर्ने छाता संगठन भएको उल्लेख गर्दै व्यापार मेला सञ्चालनका लागि स्थानीय सरकारले संघको सिफारिस आवश्यक बनाएको तथ्य सर्वविदित रहेको जनाएको छ।
संघका अनुसार, आगामी वर्षदेखि व्यापार मेला स्वयंले सञ्चालन गर्ने पूर्व जानकारीसहित यस वर्ष भने जिल्ला खेलकुद विकास समिति मकवानपुर लाई विशेष सर्तसहित सिफारिस प्रदान गरिएको हो। हेटौंडाको राजमार्ग विस्तारका कारण प्रभावित व्यापारीहरूलाई विशेष छुट दिने व्यवस्था र खेलकुद गतिविधि सञ्चालन गर्ने उद्देश्यले सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ।
२५ गज सडक विस्तारका कारण व्यापारमा आएको मन्दी र व्यापारीहरूको मनोबल खस्किएको अवस्थामा यस्तो मेलाले व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वासका साथ सिफारिस गरिएको संघले जनाएको छ।
तर, संघले उक्त महोत्सवमा संस्थागत रूपमा आफ्नो कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

















