मकवानपुरमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु, दुई घाइते

Image

हेटौंडा/ मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मोरेस्थित गाउँमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मिति २०८२।१२।१९ गते करिब १६:३० बजे उक्त स्थानमा गाउँमा विद्युत् विस्तारका लागि ५/६ जना मिलेर फलामको बिजुलीको पोल गाड्ने क्रममा पोल माथिको उच्च भोल्टेज (हाईटेन्सन) लाइनमा छोइँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।

घटनापछि सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल, मकवानपुर पठाइएको थियो।उपचारका क्रममा मकवानपुरगढी गाउँपालिका–२ मापुङ निवासी अन्दाजी ३०–३५ वर्षीय राज कुमार गोलेलाई १७:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै मकवानपुरगढी–७ सानडाँडा निवासी अन्दाजी ५०–५५ वर्षीय मान बहादुर गोलेको अवस्था मध्यम रहेको छ भने मकवानपुरगढी–२ मोरे निवासी ३० वर्षीय राज कुमार स्याङतानको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।